राष्ट्र बैंकको पुनः सुचना: क्रिप्टो कारोबारीलाई कारवाही गर्ने, विदेशमा बस्ने नेपालीलाई पनि बन्देज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्डका कारोबारीलाई कारवाहीको चेतावनी दिएको छ । यी कार्यहरु गैरकानुनी रहेकोले यी कार्यमा संलग्नलाई कारवाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो ।

यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत माघ ९ गते सूचना जारी गरेर कारोबार नगर्न भनेपनि पुनः यो सूचना जारी गरेर सचेत गराएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भच्र्युअल करेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भच्र्युअल करेन्सीको कारोबार गैरकानुनी रहेको छ, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भच्र्युअल करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।