सबै उप-सुचक बढ्दा नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे २ अर्ब नजिक

सबै उप-सुचक बढ्दा नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे २ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ । आज नेप्से ५५.८८ अंकले बढेर २ हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १० कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीपर्पोज फाइनान्स र राधी विद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सोमबार रिभरफल्स पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको पनि शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

यस्तै, आज सेन्ट्रल फाइनान्स कम्पनी, गोर्खाज फाइनान्स, आइसीएफसी फाइनान्स, युनिभर्सल पावर कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा आज सबै भन्दा बढि शिबम् सिमेन्टसको भएको छ । यसको आज २१ करोड २ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।