असार १ गते देखि उपत्यकाका सबै सपिङ मल खुला गर्ने व्यवसायीको निर्णय

असार १ गते देखि उपत्यकाका सबै सपिङ मल खुला गर्ने व्यवसायीको निर्णय


बैकिङ्ग समाचार ।

काठमाडौ उपत्यकामा रहेका सबै सपिङ मलहरु खुला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन्।

सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।

व्यवसायीहरुले भने सरकारी निर्णय उचित नभएको भन्दै मलहरु खुला गराउने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायीहरुको संगठनको बैठकले खुला गर्ने एकतर्फी निर्णय गरेको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए ।

व्यवसायहरु सञ्चालनमा आएपछि माक्स, स्यानिटाइजर लगायत सुरक्षाका आवश्यक साधनहरु प्रयोग गरी उच्च सुरक्षा सतर्कता अपनाइने अध्यक्ष घिमिरेले बताए ।

सिभिल मल व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, सिटी सेन्टर व्यापार संघ, ताम्राकार कम्प्लेक्स व्यापार संघ, संचयकोष भवन, आईप्लेक्स कम्प्लेक्स, आर बि कम्प्लेक्स व्यापार संघ, के.एल टावर व्यापार संघ, रञ्जना मल व्यापार संघ, लाबिम मल, बिजि मल र.बिशाल बजार व्यापार संघले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै सरकारी निर्णय गलत भएको बताएका छन् ।

सुरक्षाका दृष्टिकोणले पनि सपिङ मलहरु सुरक्षित रहेको भन्दै उनीहरु आवश्यक सुरक्षा सतर्कता अपनाएर व्यवसाय शुचारु गर्ने बताएका छन् । लामो समय लकडाउन लम्बिदै जादा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई तिर्नु पर्ने कर समेत तिर्न नसक्ने अवस्थामा पुगिएकाले व्यवसाय खोल्नुको विकल्प नरहेको उनले बताए ।

‘घर भाडा, कर्मचारी तलव, बिभिन्न शीर्षकमा तिर्नु पर्ने सरकारी कर, बैकको व्याज तथा किस्ता साथै घरायसी खर्चले गर्दा व्यापारीहरुको अवस्था नाजुक भई व्यवसायबाट पलायन हुनुपर्ने स्थितिमा पुगेको कुरा जगजायर छ’ वित्रप्तिमा भनिएको छ, ‘व्यवसायमा फर्कनु पर्ने हाम्रो कुनै रहर नभई बाच्नको लागि बाध्यता भएकाले हामी नेपाल सरकारको उल्लेखित निर्णयको विरोध गदै २०७७ असार १ गते देखि कोभिड–१९ बाट बच्न र फैलनबाट रोक्न सकिने सम्पूर्ण विधि तथा उपायहरु अवलम्वन गदै सम्पूर्ण मल तथा कम्प्लेक्समा रहेको पसलहरु पूर्ण रुपमा खुल्ला गरि आफ्नो व्यवसायमा फर्कने निर्णय गरिएको छ ।’