धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ लाख ३१ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड पश्चात बल्ल सर्वसाधारणका लागि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता निष्काशन गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यपिटलले जनाएको छ ।

आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।