बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले १५४ जना विद्यार्थीलाई छात्रवृत्तिको दिने भएको छ । बैंकले एसईई उतिर्ण गरेका गरिब तथा विपन्न वर्गका १५४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको हो ।
सानिमा बैंकले हरेक वर्ष विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट २-२ जना विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न बैंकले छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही बमोजिम बैंकले २०७९ साल बैशाखमा संचालित एसईई परीक्षा उत्तीर्ण गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । बैंकको उक्त छात्रवृत्तिका लागि भाद्र ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगदवृत्ति प्रदान गर्दै आइरहेको छ । बैंकका अनुसार छात्रवृत्तिको रकम प्रति वर्ष प्रति विद्यार्थी रु. ५०,००० सम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महिना रु. २,००० नगद वृत्ति समावेश हुनेछ ।
बैंकका अनुसार आवेदक दिने विद्यार्थी शाखा रहेका स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ । आवेदक गरिब तथा विपन्न परिवारको हुनुपर्नेछ । आवेदकले सोहि स्थान भित्रको सरकारी/सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरी पहिलो प्रयासमा नै एस.ई.ई उत्तीर्ण गरेको हुनुपर्नेछ । सोहि स्थानभित्र रहेको माध्यमिक शैक्षिक संस्थामा उपलब्ध विषय/संकाय अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था तथा संकाय आवेदक आफैले छनौट गर्नुपर्नेछ । आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
उक्त आवेदन फारम शाखा बाट निशुल्क पाइने छ र आवेदन दिंदा एक प्रति पासपोर्ट साइजको फोटो, एसईईको मार्क सिट र क्यारेक्टर, आमा वा बुबाको नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने छ । त्यस्तै आवेदकले विगत ३ वर्ष देखि बैंकको शाखा रहेको स्थानमा रहेका सरकारी र सामुदायिक विद्यालयमा पढेको कागजात संलग्न गर्नुपर्ने छ ।
बैंकका हाल ९९ वटा शाखा कार्यालय रहेका छन् । जसमा उपत्यका भित्रमा २२ वटा शाखा र बाहिर ७७ वटा रहेका छन् । सोही बमोजिम एउटा शाखाबाट २ जनालाई दिँदा १५४ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् ।



About Us
प्रतिक्रिया