बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा नम्बर एक बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख रुपैयाँ र फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशतले बढेर ६७ करोड २ लाख रुपैयाँ भएसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।



About Us
प्रतिक्रिया