बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १२५.१९ प्रतिशत बढेर करिब ४ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी बढेपनि खुद ट्रेडिङ्ग आम्दानी ऋणात्मक भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेर १३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ०.३१ प्रतिशत बढेर १५ अर्ब १२ करोड ८९ लाख रुपैयाँ, निक्षेप २.२६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ र कर्जा १८.५४ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.१३ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया