महिला लघुवित्तको नाफा ६१.४३% ले बढ्यो, ईपीएस १०१ रुपैयाँ भन्दा बढि

महिला लघुवित्तको नाफा ६१.४३% ले बढ्यो, ईपीएस १०१ रुपैयाँ भन्दा बढि


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १५ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६१ दशमलव ४३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने १८ दशमलव ७६ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेको वर्ष कम्पनीको खराब कर्जा संकलन बढी भएकाले खुद नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष रू. ४ करोड १५ लाखभन्दा बढी रहेको खराब कर्जा संकलन गत वर्ष रू. १५ करोड १४ लाखभन्दा बढी भएको हो ।

सञ्चालन नाफा भने सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले घटेको देखिन्छ । अघिल्लो वर्ष रू. १० करोडभन्दा बढी सम्भावित जोखिम शिर्षकमा छुट्याएको कम्पनीले गत वर्ष रू. १२ करोड ३५ लाखभन्दा बढी छुट्याएको हो ।

४७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १४ करोड ७५ लाख पुर्‍याएको कम्पनीको जगेडा कोष रकम रू. २९ करोड ८३ लाखभन्दा बढी कायम भएको छ । साढे २३ प्रतिशत बढी रू. २ अर्ब ७७ करोड कर्जा सापटी लिएको कम्पनीले ८६ दमलव ६४ प्रतिशत कम रू. ४४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।

निक्षेप संकलन भने ४४ दशमलव ३८ प्रतिशत बढी रू. १ अर्ब ३४ करोड भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ७१ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ९१ प्रतिशत पुगेको छ । 

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ७८ पैसा बढेर १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ ।