बैंकिङ्ग समाचार, काठमाडौं ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १४.८८ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४७.७५ प्रतिशत घटेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ५८ पैसा घटेर २३ रुपैयाँ ४९ पैसामा सीमित भएको छ । दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हाल रोक्का रहेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३६.८२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ४.७८ प्रतिशत, निक्षेप १४.७० प्रतिशत र कर्जा १३.४४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया