बैंकिङ्ग समाचार, काठमाडौं ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा शून्य दशमलव ८३ प्रतिशत कम भएको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ११ करोड ७० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि सञ्चालन नाफा २ दशमलव ६४ प्रतिशत कम भएको छ । जसको असर खुद नाफामा परेको हो ।
अघिल्लो वर्ष ९ करोड १६ लाख रूपैयाँभन्दा बढी भएको कर्मचारी खर्च गत वर्ष १४ करोड ८७ लाख रूपैयाँभन्दा बढी भएको हो । त्यस्तै अघिल्लो वर्ष ४ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको अन्य सञ्चालन खर्च गत वर्ष ८ करोड २५ लाख रूपैयाँभन्दा बढी भएको हो । खर्च बढी हुँदा अघिल्लो वर्ष १५ करोड २० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीको गत वर्ष यो नाफा १४ करोड ८० लाख रूपैयाँभन्दा बढी मात्र भएको छ ।
२५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ३२ करोड १२ लाख २५ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम भने ३० दशमलव ७८ प्रतिशत बढेर १७ करोड ५७ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष साढे ३३ प्रतिशत बढी ३ अर्ब ६८ करोड रूपैयाँ कर्जा सापटी लिएको छ भने ६५ दशमलव १० प्रतिशत बढी ५ अर्ब ३९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्ष कम्पनीको निक्षेप संकलन भने अघिल्लो वर्षभन्दा ६० दशमलव ७० प्रतिशत बढी १ अर्ब ३४ करोड रूपैयाँ भएको छ । अघिल्लो वर्ष २ दशमलव शून्य २ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ९२ प्रतिशतमा झरेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ ।
प्रतिक्रिया