सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीले संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई उक्त अवार्ड शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदान गरेका हुन् । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कडेलले जनाए । 

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

सिद्धार्थ बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा र २,००० भन्दा बढी पिओएस् मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ ।