सिटिजन्स बैंकको नाफा २ अर्ब २५ करोड बढी, नाफा करिब २५% बढ्दा ईपीएस पनि बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा करिब २५ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा पनि बढेको हो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २४.९४ प्रतिशत बढेर ३ अर्ब ६ करोड रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेर ८६ करोड ९० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत बढेर ६ अर्ब ३९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९.७५ प्रतिशत घटेर १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड रुपैयाँ, निक्षेप ८.६५ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ र कर्जा १०.६८ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

असारसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।