बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक हुनु भन्दा अगाडी शेयर बजार २७.२६ अंकले घटेको छ । विगत दुई सातादेखि यस वर्षको मौद्रिक नीति शेयर बजार मैत्री आउने हल्लाले १३० अंकले सुधार भएकोमा मौद्रिक नीति आउने दिनमा भने २७ अंकले घटेको छ ।
गत आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समावेश भएको ४/१२ को नीतिका कारण शेयर बजारमा गिरावट आएको उनीहरुले आरोप लगाउँदै आएका थिए । आज अपरान्ह नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । चालू आवको मौद्रिक नीतिले उक्त नीति परिमार्जन हुन्छ भन्ने धेरै लगानीकर्ताको आशा रहेको थियो । तर, सो नीतिबारे परिमार्जन नहुने बजारमा हल्ला चलेपछि शुक्रबर नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से २७.२६ अंकले घटेर २ हजार १७ दशमलब ४६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४१ प्रतिशतले बढेर प्रतिकित्ता ९४९.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया