बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक लिमिटेडले रू. ५ अर्ब २० करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले रू. ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन मुनाफा करिब २७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन मुनाफा गरेको बैंकले गत वर्ष रू. ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ २५ पैसा भएकोमा यस पटक बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा भएको छ । पीई रेसियो ११.४९ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १५६.११ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर नेटवर्थ १५१.११ रुपैयाँ थियो । सो अवधिसम्म बैंकले २३ दशमलव ५५ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
इम्पेरमेण्ट चार्ज अघिल्लो वर्षभन्दा गत वर्ष ५५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब १२ करोडभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ५० करोड ३७ लाखभन्दा बढी मात्र रहेको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार कायम भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ९९ करोड रहेको रिटेन्ट अर्निग गत वर्ष सोही अवधिसम्म रू. ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ ।
जगेडा कोष रकम अघिल्लो वर्षको तुलनामा २५ दशमलव ३८ प्रतिशत बढेर रू. १० अर्ब १५ करोडभन्दा बढी कायम भएको छ । बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष ३ दशमलव ३७ प्रतिशत बढी रू. २ खर्ब ७७ अर्ब ४९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १३ प्रतिशत बढी रू. २ खर्ब ५८ अर्ब ५४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष घटेर १ दशमलव २२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८९ दशमलव २१ प्रतिशत छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा कम सीमामा राख्नु पर्ने नियम बनाएको छ ।



About Us
प्रतिक्रिया