सिक्लेस हाइड्रोपावरको आईपीओ भोलीदेखी आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन हुने

सिक्लेस हाइड्रोपावरको आईपीओ भोलीदेखी आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रवार आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारीपूँजी रू. ८५ करोडको १० प्रतिशत अर्थात रू. ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएकाे छ ।

आईपीओमा आवेदन दिने समय साउन २० गतेसम्म रहेको छ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा भदौ ५ गतेसम्म थप गरिने छ । 

इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।