एनआईसी एशियाले जारी गर्यो चौथो त्रैमासको वित्तिय विवरणः खुद नाफा ३९% ले बढेर साढे ४ अर्ब माथि, ईपीएस पनि उल्लेख्य बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले रू. ४ अर्ब ५३ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३९ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले रू. ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष इम्पेरमेण्ट चार्ज २९ प्रतिशत घटेकाले कम्पनीको सञ्चालन नाफा साढे ३३ प्रतिशत बढेकाले खुद नाफामा बृद्धि भएको हो । अघिल्लो वर्ष रू. १ अर्ब २२ करोडभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ८७ करोडभन्दा बढी मात्र रहेको छ । सञ्चालन नाफा भने अघिल्लो वर्ष रू. ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष रू. ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९५ रुपैयाँले बढी हो । र प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ५२ छ । बैंकले गत चौथो त्रैमाससम्म २० दशमलव ३० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

त्यस्तै, मूल्य आम्दानी अनुपात १७.७९ गुणा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी छ । त्यस्तै, बैंकको स्व-पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ । हाल रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्तापूँजी रहेको यस बैंकको रिटेन्ट अर्निग रू. ३ अर्ब ८४ करोडभन्दा बढी र जगेडा कोषमा रू. ९ अर्ब ७४ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म बैंकको रिटेन्ट अर्निग १४० दशमलव ४४ प्रतिशत र जगेडा कोष रकम २५ दशमलव ८९ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष चौथो त्रैमाससम्म शून्य दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा शून्य दशमलव ४९ प्रतिशतमा झरेको छ भने सीडी रेसियो बढेर ८६.२६ प्रतिशतमा पुगेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र क्यापिटल कर्जरभेशन बफरसहित उक्त अनुपात ८.९३ प्रतिशत पुगेको छ ।

गत वर्ष बैंकले रू. २ खर्ब ८९ अर्ब ९० करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ५२ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो वर्ष निक्षेप संकलन १ प्रतिशत बढी भएको हो भने कर्जा प्रवाह १ दशमलव ४८ प्रतिशत बढेको हो । 
 
बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू मार्फत सेवा दिँदै आइरहेको छ । यो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।