बैंकिङ्ग समाचार, काठमाडौं ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गते बुधवार (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाको १५ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याईएको हो ।
यो आईपीओ छिटोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १८ गतेसम्म विक्री खुला हुनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी उपयोग गरी २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस कम्पनीमा संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कम्पनी र आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूमा ५ प्रतिशत शेयर जारी गरिसकेको छ ।
प्रतिक्रिया