नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ । अर्थात बैंकले निष्काशन गरेको ५ वर्षे अवधिको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ मा आजसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।