बैकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा डाकेको छ । गत जेठ १२ गते ज्योति लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको सूर्या लाइफले शेयरधनीबाट अनुमोदनका लागि विशेष साधारणसभा डाकेको छ । कम्पनीको असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले साउन १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
सो सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे शुरु हुनेछ । नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय अनुमोदनका लागि यो विशेष साधारणसभा आह्वान गरिएको कम्पनीले जनाएको छ ।
सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सो विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्ने/गाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा असार १३ गतेदेखि रोक्का रहेको छ । यस अनुसार असार १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।





About Us
प्रतिक्रिया