बैंकिङ्ग समाचार, काठमाडौं ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ । आईपीओमा स्थानिय बासिन्दाहरुले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया