हिमालयनले सिभिल बैंकलाई गाभ्ने, भयो एमओयूमा हस्ताक्षर


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच आज गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । सो सम्बन्धमा दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

दुई बैंकले १००:८१ को अनुपात स्वाप रेसियो हुने गरी सम्झौता गरेका हुन् । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् ।

समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।

प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउने भएका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई वरिष्ठ डेपुटी सीईओको भूमिका दिने सहमति भएको छ ।

हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । त्यस्तै, प्राप्ति पश्चात नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ ।

१००:८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।