बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रकृया करिब करिब सहमतिमा पुगेको छ । स्वाप रेसियोमा विवादका कारण रोकिएको दुई बैंकका सञ्चालकहरु मंगलबार साँझ सहमत भएसँगै बुधबार दुई बैंकबीच मर्जर तथा एक्वीजिसनसम्बन्धि सम्झौता हुने भएको छ ।
हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको छ । यसअघि डिडिएको आधारमा स्वाप कायम हुने अडान हिमालयनका सञ्चालकले लिएपछि बैंकको मर्जर रोकिएको थियो । तर मंगलबार सञ्चालकहरुबीच पुनः सहमति जुटेको हो ।
सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो । 'सिभिलले अगाडी सारेका बिषयहरु हिमालयन बैंकले बीना सर्त मान्न तयार भएपछि सिभिलको संचालक समितिको बैठकले हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो ।' एक बैंक स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार सिटिजन्स र हिमालयन मध्ये कुनसँग प्राप्तिमा जाने भन्ने बिषयमा संचालक समितिमा छलफल भएको र अन्तिममा हिमालयनसँग प्राप्तिमा जानलाई सहमती जुटेको हो ।
पूर्व सहमतिअनुसार नै प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ । त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन् । कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन् ।
त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ । कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ ।
यस अगाडी शुक्रबार मर्जर सम्झौता हुने भनीए पनि अन्तिममा हिमालयनले नयाँ सर्त अगाडी सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडी हटेको थियो । सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो ।
हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ । सबै कुरा सहजढंगले अगाडी बढे आज दिउँसो ३ बजे पश्चात सम्झौता हुने बताईएको छ ।



About Us
प्रतिक्रिया