बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया