बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिन म्याद थप भएको छ । असार २६ गते निष्काशन बन्द हुने भनिएको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ मा अब असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
असार २६ गते बकर इदका सार्वजनिक बिदा परेका कारण निष्काशन अवधि एक दिनका लागि थप गरिएको बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।
सो ऋणपत्र खरिदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।



About Us
प्रतिक्रिया