नेपाल बङ्लादेश बैंक र नबिल बैंकले पाए एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार यी दुई बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंकका बैंक वित्तीय संस्थाका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले यी दुबै बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति दिएको जानकारी दिए । उनले भने, ´नेपाल राष्ट्र बैंकले बुधबार यी दुई बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो । अब यी दुई बैंकहरुले एकीकृत कारोबार गर्न सक्छन् ।´ 

बैंक स्रोतका अनुसार कर्मचारी समायोजनको विषय टुंगो लागिसकेको छ । कर्मचारी समायोजनमा बङ्लादेश बैंकका कर्मचारीको पद यथावत राखिने सहमती भएको समेत स्रोतले जानकारी दिएको छ । साथै असार मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी रहेको बैंक स्रोतको भनाइ छ ।

नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले गत पुष २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । यी दुबै बैंकले जेठ ७ गते बसेको विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गरेका थिए ।