बैंकिङ्ग समाचार, काठमाडौं ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । सो आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया