बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यी वाहेक बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने असार २९ गतेसम्म विक्री खुला गरिने कम्पनीको भनाई छ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिभित्रै कम्पनीको आईपीओ विक्री हुने सम्भावना रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको आईपीओ खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाखपुग्नेछ ।
प्रतिक्रिया