सुविधा खोसिने डरले महिना दिनमै सम्भव भयो ३ ‘बिग मर्जर’


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जानको लागि सुल्झाएको छ । नेपालमा हाल कुल २७ वटा बाणिज्य बैंक रहेकोमा नेपाल जस्तो सानो देशमा १५ वटा मात्र बाणिज्य बैंक भए पुग्ने भन्दै राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मर्जरमा जान भनेको हो ।

गत महिना मात्र ‘नेपाल राष्ट्र बैंक तथा वित्तिय संस्था नियमन विभाग’ ले काठमाडौंमा गरेको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले तोकिएको समय सिमा भित्र मर्जरमा गएको खण्डमा हाल घोषणा गरिएको सेवा–सुविधा उपलव्ध हुने, तर नयाँ मौद्धिक नीति आएको खण्डमा सो सेवा–सुविधा प्राप्त नहुने स्पष्ट पारिसकेका छन् ।

राष्ट्र बैंकले ‘नेपालमा बैंक तथा वित्तिय संस्थाको उपयुक्त संख्या’ बिषयक प्रतिवेदन सार्वजनिक गदै नेपालमा कुल १५ वटा वाणिज्य बैंकहरु मात्र भए पुग्ने निष्कर्ष निकालेको थियो । जस अनुरुप कम आय भएका वाणिज्य बैंकहरुलाई सो निष्कर्षले दबाब समेत परेको थियो । 

के–के पाउछन् मर्जरमा जाने बैंकहरुले सुविधा ?

चालु आर्थिक वर्षको मौद्रिक नीतिले भनेको छ, बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको आधार दरिलो बनाई जोखिम बहन क्षमता सुदृढ तुल्याउन बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा स्वतस्फूर्त गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुन थप प्रोत्साहित गरिने छ । सोही अन्तर्गत दिएका सुविधा निम्न प्रकार छन्ः

१. तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
२. एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
३. एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
४. तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने ।
५. सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई अन्य संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
६. कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने ।
७. एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने ।
८. एकीकृत कारोबार सञ्चालनको क्रममा १ किमि भित्रका शाखा कार्यालयमध्ये कुनै एकमा शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने ।
९. वाणिज्य बैंकको ०.१० प्रतिशत वा सो भन्दा कम सेयर धारण गरेका संस्थापक समूहको सेयरधनीले यस्तो सेयर बिक्रि गर्दा फिट एन्ड प्रपर टेस्ट अनिवार्य नहुने ।

यी हुन् मर्जर सम्झौता भएका बैंकहरु

इन्भेष्टमेन्ट–मेगा बैंक
गत महिनामा मात्र इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबैले एक आपसमा गाभिनको लागि सो पत्रमा हस्ताक्षर गरिसकेका छन् । साथै, मर्जर पछि बैंकको नाम समेत टुगों लागिसकेको छ । मर्जरपछि सो बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने भनि बैंकको नामाकरण समेत भएको छ, भने यी दुई बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड हुनेछ । 

\"\"

ग्लोबल आईएमई–बैंक अफ काठमाडू 
असार २ गते ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडू (बीओके) बीच मर्जरको लगि समझदारी भएको छ । बिहीबार मात्रै दुबै बैंकबीच बराबरीको हैसियतमा मर्जर हुने सहमति जुटेको हो । मर्जर पछि बैंकको नाम ग्लोबल आईएमई बीओके हुने टुगों लागिसकेको छ भने, मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैँया पुग्ने छ । साथै, पुँजीको हिसाबले यो बैंक नेपालकै ठुलो बाणिज्य बैंक बन्नेछ । 

\"\"

नबिल–नेपाल बंगलादेश बैंक
२०७८ पुस २९ गते नै नबिल र नेपाल बंगलादेश बैंक बीच मर्जरको लागि सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । नेपाल बंगलादेश बैंकको १ सय कित्ता बराबर नबिलको बैंकको ४३ कित्ता सेयर मान्य हुने गरी सहमति पत्रमा हस्ताक्षर भएको हो । यी दुई बैंकको मर्जर पछि कुल चुक्ता पुँजी २२ अर्ब ७४ करोड रुपैया भन्दा माथि हुनेछ । 
\"\"