बैंकिङ्ग समाचार, काठमाडौं ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत धितोपत्रको सार्वजनिक निष्काशनका लागि आशय मूल्य प्राप्त गर्न ‘रोड सो’ अर्थात छलफल कार्यक्रम डाकेको छ ।
कम्पनीले असार १९ गते, र्याडिसन होटल, बेगनास हल, लाजिम्पाटमा दिनको ३ः१५ मा सो कार्यक्रम डाकेको हो । सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत प्राप्त संस्थाहरुले सहभागिता जनाउन सक्नेछन् । योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधि सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो सहित उपस्थित हुन कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीले बुक बिल्डिङ्ग विधि माफृत धितोपत्र सार्वजनिक निष्काशन गर्न लागेको र बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्रमा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुसार सो कार्यक्रमको आयोजना गरिएको हो ।
बुक विल्डिङ विधि मार्फत आईपिओ निष्काशन गर्नको लागि आवश्यक पर्ने विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली तयार नहुँदासम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवश्यक कार्य गर्नको लागि कम्पनीले नेप्सेसँग सम्झौता गरिसकेको छ । सर्वोत्तम सिमेन्टको आईपिओको लागि मूल्य निर्धारण प्रक्रिया गोप्य शिलबन्दी बोलपत्रमार्फत गर्नको लागि सहमति भएको हो ।
बुक विल्डिङ निर्देशिका २०७७ मा स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल मूल्य निर्धारणको लागि संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्ने ब्यबस्था छ । सोहि अनुसार नेप्से र सर्वोत्तम सिमेन्टबीच सम्झौता भएको हो ।
सोहि अनुसार अब कम्पनीले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गर्न लागेको हो । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया