बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असार १० गतेदेखि ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
प्रतिक्रिया