नेप्से परिसुचक नौं महिनाकै न्युन विन्दुमा, आज भारी अंकले घटेर पुग्यो २ हजारको बिन्दु मुनि

नेप्से परिसुचक नौं महिनाकै न्युन विन्दुमा, आज भारी अंकले घटेर पुग्यो २ हजारको बिन्दु मुनि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा मंगलबार पनि कायमै रहेको छ । यसअघि ३२ सय विन्दुसम्म पुगेको नेप्से पछिल्लो समय निरन्तर गिरावट हुँदा २ हजार विन्दु भन्दा तल झरेको छ । नेप्से नौं महिनाकै न्युन विन्दुमा झरेको हो ।     

गत भदौ ३ गते बिहिबार नेप्से उच्च विन्दुमा पुगेको थियो । त्यसदिन नेप्से ३ हजार २ सय २७ दशमलब ११ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । तर, आज नेप्से ३६.०७ अंकले घटेर १ हजार ९ सय ९६ दशमलब २६ विन्दुमा झरेको हो । 

त्यस्तै, कारोबार रकम पनि १ अर्बमा खुम्चिएको छ । गत साउन ३१ गते आइतबार नेप्सेमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । यसदिन नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको थियो । तर, आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।     

आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँ पुगेको छ ।       

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।