तीन वर्षदेखि लगातार घट्दै ब्याजदर : शून्य ब्याजदर सम्भव छ ?

तीन वर्षदेखि लगातार घट्दै ब्याजदर : शून्य ब्याजदर सम्भव छ ?


काठमाडौं – ब्याजदर पछिल्लो तीन वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह नबढ्दा बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । बैंकहरुले नबढेको लगानी बढाउनका लागि ब्याजदर घटाइरहेका हुन् ।वाणिज्य बैंकहरुको ब्याजदर निरन्तर घट्दै कात्तिकका लागि ६.१८७ प्रतिशतको बिन्दुमा आइपुगेको छ ।

सञ्चालित २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेप औषत ब्याजदर असोज महिनासम्म ६.३९८ प्रतिशत थियो । ब्याजदरमा निरन्तर गिरावट आउँदापनि बैंकहरुको लगानी भने बढ्न सकेको छैन । हाल बैंकहरुले ६ प्रतिशतमा बचत संकलन गरेर ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राख्न बाध्य छन् ।

केन्द्रीय बैंकले ब्याजदरको सीमा धेरै तल नझरोस् भनेर न्यूनतम सीमा ३ प्रतिशत कायम गरेको छ । यो ब्याजदरमा वाणिज्य बैंकहरुबाट केन्द्रीय बैंकले धमाधम तरलता प्रशोचन गरिरहेको छ । चालू आर्थिक वर्षयता नै राष्ट्र बैंकले ३ खर्ब रुपैयाँभन्दा बढी रकम तानिसकेको छ । तर पनि बैंकहरुमा रहेको तरलता घटेको छैन ।

बढ्दो तरलता

बैंक तथा वित्तीय संस्थामा हाल पर्याप्त छ । बैंकहरु लगानी गर्न तयार रहेपनि कर्जा लिनेहरुको संख्या बढ्न सकेको छैन । बैंकिङ्ग क्षेत्रमा बढ्दो तरलतासँगै बैंकहरुको ब्याजदर समेत घट्दै आइरहेको हो । अघिल्लो साता १ खर्ब रुपैयाँ तान्ने राष्ट्रको चाहनामा बैंकहरु २ खर्ब रुपैयाँ राख्न चाहेका थिए । यसले पनि बैंकहरुमा बढ्दो तरलताको विकराल स्थिति आइरहेको देख्न सकिन्छ ।

केन्द्रीय बैंकले गत कात्तिक २१ गते तरलता थुप्रिएपछि व्यवस्थापनका लागि १ खर्ब रुपैयाँ तान्ने भएकोमा पर्याप्त तरलता राखेका बैंकहरु २ खर्ब राख्न इच्छुक देखिएका थिए । वित्तीय प्रणालीमा अधिक तरलता देखिएकाले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्न लागेको हो । बैंकिङ्ग क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरू नै प्रयोगमा ल्याएर काम गर्दै आएको छ । केन्द्रीय बैंकले बजारमा पैसा अभाव हुँदा पठाउने र बढी हुँदा खिचेर राख्ने गर्दै आएको छ ।

शुन्य ब्याजदरतर्फ अग्रसर

केन्द्रीय बैंककाअनुसार यतिबेला बैंक तथा वित्तीय संस्थामा ६ खर्ब लगानीयोग्य रकम छ । तर, लगानी शून्य प्राय छ । यद्यपि, पछिल्लो समय कर्जा विस्तार बढ्दो अवस्थामा रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । बजार चलायमान नहुँदा र निजी क्षेत्रमा लगानीको आत्मविश्वास नफकिँदा न्यून ब्याजदर भएपनि लगानी बढ्न नसकेको हो । निजी क्षेत्रको मनोबल नबढेसँगै बैंकहरुको लगानी नबढ्दा नेपाल ‘लिक्विडिटि ट्रयाप’ (ब्याजदर माइनसमा) मा जाने जोखिमको आँकलन गर्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकले भने बैंकिङ्ग क्षेत्रमा तरलता वृद्धि हुँदैमा लिक्विडिटि ट्रयापको जोखिम सिर्जना नहुँने दाबी गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता भागवत आचार्य नेपाल विकासोन्मुख देश भएकाले शून्य ब्याजदरमा जाने सम्भावना कम रहेको बताउँछन् । आचार्यकाअनुसार वित्त नीतिको सम्भावना रहेको देशमा ब्याजदर शून्यमा आउने सम्भावना रहँदैन । उनले बढी आयात रहेको तर त्सलाई विस्थापन गर्ने सम्भावना रहेको मुलुकमा ब्याजदर शून्यमा झर्ने सम्भावना नहुँने यदि शून्यमा ब्याजदर झरे सिद्धान्त विपरीत हुन जाने बताए ।

बैंकिङ्ग क्षेत्रका विज्ञहरु भने लगातार ब्याजदर घट्दै जाँदा शून्य मै पुग्ने त होइन भन्ने किसिमका चिन्ता व्यक्त गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा नबढ्ने ब्याजदर घट्ने र तरलता थुप्रिने तर लगानी नबढ्ने हुँदा शून्य ब्याजदरतर्फ जान सक्ने उनीहरुको बुझाई छ । पूर्व बैंकर भुवन दाहाल बैंक तथा वित्तीय संस्थामा थुप्रिएर बसेको रकम त्यति धेरै नरहेको बताउँछन् । उनकाअनुसार बैंकहरुले विभिन्न क्षेत्रमा लगानी गर्नेहो भने हाल बैंकहरुमा रहेको पैसा सक्किन अलिकति पनि समय लाग्दैन ।

नेपाल बैंकर्स एशोशिएसनको पूर्व अध्यक्ष समेत रहेका दाहाल कर्जा प्रवाह नभएर तरलता बढ्नु र कर्जा प्रवाह नभएर ब्याजदर घट्नु बैंकिङ्ग क्षेत्रको लागि दुर्भाग्य भएको बताउँछन् । ‘नेपालजस्तो मुलुक जहाँ लगानी गर्नुपर्ने क्षेत्र यतिका छन् जसमा तरलता बढी भएर ब्याजदर घट्नुपर्ने अवस्था आएमा त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘अब कर्जाको माग नबढ्दासम्म ब्याजदर घट्दै जाने नै हो ।’ उनले बैंक तथा वित्तीय संस्थामा थोरै रकम मात्रै रहेकाले नेपाल ‘लिक्विडिटि ट्रयाप’मा नपर्ने बताए ।

जापान हाल शून्य ब्याजदरमा छ । जापानमा ब्याजदर ऋणात्मक छ । जापानमा बिरलै मात्र ब्याजदर धनात्मकमा जाने गर्दछ । १९९० देखि जापानको ब्याजदर शुन्यमा झरेको हो । लिक्विडिटि ट्र्यापमा त्यस्तो देशहरू पर्छन् जसले अत्यधिक ऋण र मन्दीका कारण आर्थिक गतिविधिहरू सुस्त भएको हुन्छ । नेपाल अत्यधिक ऋणमा नभएपनि आर्थिक सुस्ततामा छ ।


के हो लिक्विडिटि ट्रयाप ?

अर्थशास्त्रीय सिद्धान्तअनुसार जब ब्याजदर ओरालो लाग्दै जान्छ, तब उपभोग्य वस्तु तथा सेवाको माग उकालो लाग्न थाल्छ । साथै यस्तो अवस्थामा सस्तो पुँजी उपलब्ध हुने हुँदा लगानीकर्ताहरू नयाँ योजना सुरु गर्न र व्यवसाय विस्तारमा लाग्छन् । जसले बजारमा कर्जाको माग बढ्दै ‘लिक्विडिटि ट्रयाप’तर्फ जान्छ । यो यस्तो प्रतिकुल परिस्थिति हो ।

जतिबेला, अर्थतन्त्रलाई लयमा फर्काउन नियमकीय निकाय वा सरकारले ब्याजदरलाई न्यून बिन्दुमा झार्दा समेत उपभोक्ता र लगानीकर्ताहरुले आफ्नो उपभोग तथा लगानी घटाउँदै नगद संग्रह गर्न उद्दत हुन्छन् । र, उच्च तरलताको स्थिति विकराल बन्दै जान्छ । लिक्विडिटि ट्रयाप हुँदा लगानीकर्ताहरूले ब्याजदर कम हुँदा पनि खर्च वा लगानी गर्नुको सट्टा नगद जम्मा नै गरिरहेका हुन्छन् । ब्याजदर न्यून बिन्दुमा आउँदा ‘लिक्वीडिटि ट्रयाप’ हुने जोखिम बढ्छ ।

सानिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) सर्जु कुमार थापा पछिल्लो समय बैंकबाट जाने ऋणको बजारबाट माग नआएको बताउँछन् । उनले बैंकहरुले ८ प्रतिशतमा नै कर्जा प्रवाह गरेको भन्दै ब्याजदर कम हुँदा पनि कर्जाको माग नबढेको बताउँछन् । उनले व्यवसायीहरूमा आत्मविश्वास नहुँदा कर्जाको माग नबढेको पनि उल्लेख गरे । ‘अहिले विजनेश गर्नेहरू बैंकबाट ऋण लिएर भन्दा पनि अहिले जे छ त्यसलाई नै मेन्टेन गर्छु भन्नेमा देखिन्छन्’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘ऋणको डिमान्ड बढाउन सबै पक्षले सहयोग गर्नुपर्नेछ ।’ एसीईओ थापाले सरकारले दिनुपर्ने बक्यौता समयमा नतिरे बजार चलायमान हुन निकै गाह्रो रहेको बताए । उनले सरकारले आशा जगाउने खालका काम गर्नुपर्ने बताए ।