काठमाडौं – विश्वका उत्कृष्ट बैंकहरूको सूची पल्टाउँदा एउटा देश बारम्बार अग्रपङ्क्तिमा देखिन्छ, चीन । केन्द्रीय बैंक होस् वा वाणिज्य बैंक, दुवै क्षेत्रमा चिनियाँ बैंकहरूले दशकौँदेखि बलियो उपस्थिति जमाउँदै आएका छन् ।
चीनकै केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइना, आज विश्वकै सबैभन्दा ठुलो केन्द्रीय बैंकको रूपमा परिचित छ । मौद्रिक नीति निर्माणदेखि वित्तीय संस्थाहरूको नियमनसम्म गर्ने केन्द्रिय बैंक कसरी विश्वकै ठुलो हुन पुग्यो, यसको कहानी रोचक छ । सन् २०१७ जुलाईदेखि यो बैंक विश्वको सबैभन्दा ठुलो वित्तीय सम्पत्ति भएका केन्द्रीय बैंकका रूपमा मानिन्छ ।
पिपुल्स बैंकको इतिहास हेर्ने हो भने, सन् १९४८ डिसेम्बर १ मा वाबेई बैंक, बेहाइ बैंक र सिबई फार्मर बैंकलाई एकीकृत गरेर यसको स्थापना गरिएको थियो । प्रारम्भमा मुख्य कार्यालय हेबेई, सिजियाझुआङमा राखिएको थियो । तर, सन् १९४९ मा कार्यालय बेइजिङमा सारियो । त्यसयता, चीनको आर्थिक संरचनामा यसले निर्णायक भूमिका खेलेको छ ।
विशेषगरी सन् १९५० देखि १९७८ सम्मको अवधिमा त यो बैंक मात्र चीनको केन्द्रीय बैंक र वाणिज्य बैंक दुवैका रूपमा काम गर्थ्याे। केन्द्रीय बैंक मात्र होइन, चीनका वाणिज्य बैंकहरू पनि विश्व स्तरमा अग्रणी बनेका छन् । चीनको बैंकिङ्ग संरचनाले पछिल्ला दशकमा देखाएको दबदबा आज विश्व वित्तीय बजारमै महत्त्वपूर्ण अध्यायका रूपमा चिनिन्छ ।
विश्वकै ठूलो वाणिज्य बैंक इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना
विश्वको सबैभन्दा ठूलो बैंकबारे कुरा हुँदा पहिलो नाम आउँछ, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना लिमिटेड (आईसीबीसी) । चीनकै मात्र होइन, विश्वकै बैंकिङ क्षेत्रमा यो संस्थाले अभूतपूर्व दबदबा जमाएको छ । आईसीबीसी आकारमा मात्र ठूलो छैन, यसको कुल सम्पत्ति, निक्षेप, कर्जा प्रवाह, ग्राहकको संख्या र कर्मचारी संख्यामा पनि अग्रणी छ । यसले चीनको वित्तीय संरचना मात्र होइन, विश्व बजारमा पनि प्रभाव छोडिरहेको छ ।
चीन सरकारकै स्वामित्वमा रहेको यो बैंकको यात्रा सन् १९८४ जनवरी १ मा सुरु भएको हो । स्थानीय सरकारी बैंकका रूपमा बेइजिङमा स्थापना भएको यस संस्थाले छोटै अवधिमा चीनको आर्थिक इन्जिनको हैसियत पाएको हो । सम्पत्तिको हिसाबले आईसीबीसीको उचाइ अद्भूत छ । सन् २०१७ डिसेम्बरसम्म यसको कुल सम्पत्ति ४०.०९ खर्ब अमेरिकी डलरमा पुगेको थियो। समयसँगै यो संख्या अझै उचालिँदै गएको छ र सन् २०२५ को जूनसम्ममा बैंकको सम्पत्ति ७.३०३ ट्रिलियन अमेरिकी डलरमा पुगेको छ । यो चिनियाँ बैंक मात्रै नभएर विश्वको बैंकिङ्ग शक्तिको प्रतिरूप बनेको छ । यसले आकार, सम्पत्ति र प्रभाव तीनै पक्षमा यसले अरूलाई पछि पारेको छ ।
चाइना कन्स्ट्रक्सन बैंक
विश्वकै दोस्रो ठूला वाणिज्य बैंकको सूचीमा पनि चीनकै बैंक पर्छ । चीनको चाइना कन्स्ट्रक्सन बैंक जनवादी गणतन्त्र चीनका चार ठूला बैंकहरूमध्येको एक हो । सन् १९५४ मा पिपुल्स कन्स्ट्रक्सन बैंक अफ चाइनाका रूपमा स्थापना हुँदा यो पूर्ण सरकारी स्वामित्वको रुपमा सञ्चालनमा थियो ।
यस बैंकको चीनमा मात्रै १४ हजार ९७७ शाखा छ भने यसका अतिरिक्त बार्सिलोना, फ्र्यांकफर्ट, लक्जम्बर्ग, हङकङ, जोहानेसबर्ग, न्युयोर्क, सियोल, सिङ्गापुर, टोकियो, मेलबर्न, क्वालालम्पुर, सिड्नी, अक्ल्यान्ड र लन्डनमा पनि यस बैंकको शाखा रहेको छ । सो बैंककम ३ लाख ५२ हजार ६२१ कर्मचारी छन् । यता बैंकको सन् २०१९ मा यसको कूल बजार पुँजीकरण २२५ अर्ब अमेरिकी डलर छ भने कुल सम्पत्ति ३,३८२ अर्ब डलर रहेको छ । एक वर्षमा बैंकले वर्षमा १ खर्ब ५० अर्ब डलरको व्यापार गरी ३९ अर्बको नाफा आम्दानी गर्दै आइरहेको छ ।
एग्रिकल्चरल बैंक अफ चाइना
विश्वको तेस्रो ठूलो बैंक पनि चीनमा नै रहेको छ । सन् १९५१ मा स्थापना भएको एग्रिकल्चर बैंक अफ चाइना (एबीसी) विश्वको तेस्रो ठूलो बैंक हो । चीन, टोकियो, हङकङ, लन्डन, न्युयोर्क, फ्रयांकफर्ट, सिड्नी, सिंगापुर र सोलमा शाखा रहेको यो बैंकको केन्द्रीय कार्यालय भने बेइजिङमा छ । यस बैंकको कुल २४ हजार शाखा छन् ।
बैंक अफ चाइना
सन् १९१२ मा स्थापना भएको बैंक अफ चाइना चिनियाँ बैंकहरूमध्ये सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको बैंक हो । यस बैंक हाल पनि विश्वका उत्कृष्ट बैंकमा गनिन्छ । यस बैंकले निरन्तर रूपमा देशको केन्द्रीय बैंक, अन्तर्राष्ट्रिय विनिमय बैंक तथा अन्तर्राष्ट्रिय व्यापार बैंकको रूपमा काम गर्दै आइरहेको छ ।
सन् १९९४ मा बैंकलाई पूर्णरूपमा राज्य स्वामित्वको व्यावसायिक बैंकमा पुनःसंरचना गरेपनि विभिन्न प्रकारका वित्तीय सेवा दिन थालेको हो । जसले बलियो क्षमतासहित स्थानीय तथा विदेशी मुद्रामा सेवा प्रदान गर्ने ठूलो वाणिज्यक बैंकको रूपमा विकास गरेको छ ।
जेपी मोर्गन चेस
जेपी मोर्गन चेस संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा छ । यस बैंकको कुल सम्पत्ति ३.३ ट्रिलियन डलर रहेको छ । यस बैंक संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो बैंक हो । बैंकको शाखाहरूको संख्या ७७ हजार ६९० पुगेको छ । बजार पुँजीकरणका हिसाबले विश्वको दोस्रो ठुलो मूल्यवान् बैंक हो । यो बैंक सम्पत्तिका आधारमा भने विश्वको चौथो ठुलो हो । २५ खर्ब डलर कुल सम्पत्तिको मालिक यो बैंक अमेरिकाको सबैभन्दा ठुलो बैंक हो ।
एचएसबीसी होल्डिङ्स
बेलायतको हङकङ एन्ड सांघाई बैंकिङ्ग कर्पोरेसन (एचएसबीसी) विश्वको ठुला बैंकको सूचीमा पर्ने एक बैंक हो । यस बैंक उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसिया क्षेत्रका ५० देशमा विस्तार भएको छ । प्रधान कार्यालय रहेको बेलायतमा मात्र यस बैंकमा ४० हजार कर्मचारी छन् ।
वेल्स फार्गो
वेल्स फार्गो एक अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यो बैंक ३५ देशहरूमा सञ्चालनमा छ र ७० मिलियनभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछ । बैंकको आकारको कुरा गर्ने हो भने संयुक्त राज्य अमेरिकाको चौथो ठुलो बैंकमा पर्छ । यसको ८ हजार बढी शाखा र १३ हजार बढी एटिएमहरू छन् ।
सिटि ग्रुप
अमेरिकामा रहेको सिटी ग्रुपको स्थापना सन् १९९८ को ८ अक्टोबरमा स्थापना भएको हो । त्यो समयमा सिटी बैंकको लागि बैंक होल्डिङ कम्पनी सिटी कर्प र ट्राभलर्स मर्ज भएका थिए । त्यतिबेला यो विश्वको सबैभन्दा ठुलो वित्तीय सेवा संस्था थियो । बैंकको सन् २०२३ सम्ममा लगभग १.९४ ट्रिलियन अमेरिकी डलर बराबरको कुल सम्पत्ति छ । सिटी ग्रुप दैनिक रूपमा लगभग ५ ट्रिलियन अमेरिकी डलर बराबरको वित्तीय कारोबार व्यवस्थापन गर्दछ र १८० देशहरूमा १९ हजार भन्दा बढी संस्थागत ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
बीएनपी परिवास
विश्वका सबैभन्दा ठुला बैंकको सूचीमा रहेको बीएनपी परिवास फ्रान्सको एक त्यस्तो बैंक हो, जहाँ १ लाख ९० हजार बढी कर्मचारी कार्यरत छन् । जून २०२५ सम्मको वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति ३.३५८ ट्रिलियन अमेरिकी डलर रहेको छ । यसको भारतसहित ६४ वटा देशमा शाखा छन् ।
मित्सुबिशी यूएफजे फाइनान्स ग्रुप
मित्सुबिशी यूएफजे फाइनान्स ग्रुप जापानको चियोडा, टोकियोमा मुख्यालय रहेको एक बैंक होल्डिङ र वित्तीय सेवा कम्पनी हो । सन् १८८० मा स्थापना भएको यस कम्पनीको कुल सम्पत्ति २०२४ सम्ममा करिब २.७ ट्रिलियन अमेरिकी डलर कायम छ । यस कम्पनी जापानको सबैभन्दा ठुलो वित्तीय समूह हो । यस कम्पनी विश्वका शीर्ष १० बैंक होल्डिङ कम्पनीहरूमा पनि पर्छ । एप्रिल २०२४ सम्ममा यसको जम्मा निक्षेप करिब १.५ ट्रिलियन अमेरिकी डलर छ ।





About Us
प्रतिक्रिया