काठमाडौं – आज दसैंको मुख्य दिन हो, टिका । घरघरमा ठूला र मान्यजनको हातबाट टिका र आर्शिवाद लिनको लागि मानिसहरू व्यस्त छन् । परम्परागत रूपमा, टिका लगाउँदा खाली हात लगिनु नमानेको चलन छ । यही परम्पराले गर्दा दसैंमा पैसाको माग अत्यधिक हुने गर्छ ।
नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, दसैंको समयमा करिब ७० अर्ब रुपैयाँभन्दा बढी नोट सर्कुलेशनमा आउने गर्छन्, जसमा साना दरका नोटहरूको संख्या बढी हुन्छ । पैसाको यो भीडले नै दसैंमा हुने आर्थिक गतिविधि र नोटको वास्तविक मागलाई स्पष्ट देखाउँछ ।
यद्यपि, गत वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट निष्काशन गर्ने प्रक्रिया बन्द गरेको छ । यसको उद्देश्य डिजिटल भुक्तानीलाई प्राथमिकता दिनु हो । यही प्रवृत्तिलाई अघि बढाउँदै, बैंकहरूले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् ।
बैंकहरूले दसैंको समयमा ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरू सार्वजनिक गर्ने गर्दछन्। यसरी, परम्परागत दसैंको माहोल र आधुनिक डिजिटल भुक्तानीको संगमले नेपाली समाजमा नयाँ र रोचक परिवर्तन ल्याइरहेको छ ।
नेपाल राष्ट्र बैंकले लगातार रुपमा डिजिटल भुक्तानीलाई जोड दिँदा कोभिडकालदेखि सुरु भएको डिजिटल भुक्तानीमा करोडौं प्रयोगकर्ता जोडिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई नै हेर्ने हो भने चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ७९ लाख ८८ हजार ७०८ पुगेको छ ।
राष्ट्र बैंकले डिजिटल भुक्तानीमा जोड दिएको कारण नै नेपालले डिजिटलमा छोटो समयमा नै प्रगाति हासिुल गर्न सफल बन्न पुगेको हो । यता, चालु आर्थिक वर्षको साउनमसान्तसम्ममा वालेट प्रयोगकर्ताको संख्या २ करोड ४४ लाख ३९ हजार ४३९ पुगेको छ ।
यस अवधिमा मोबाइल बैंकिङ्ग ६ करोड ३१ लाख ७४ हजार पटक कारोबार भएको छ । यता वालेटबाट ३ करोड ९६ लाख ८८ हजार पटक कारोबार भएको छ । यस्तै, मोबाइल बैंकिङ्गबाट ४ खर्ब ७४ अर्ब ९५ करोड र ४५ अर्ब ४४ करोड बराबरको वालेटबाट कारोबार भएको छ ।
राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने भुक्तानीसम्बन्धि रिपोर्टले पनि लगातार रुपमा वालेट र मोबाइल बैंकिङ्गको भुक्तानी बढ्दै जाँदा यसबाट हुने कारोबार रकममा पनि सुधार आएको देखाउँछ । बैंक तथा वित्तीय संस्थाले चाडपर्वमा आएका दक्षिणा बैंकमा बचत गर्न प्रोत्साहन गर्दै अफर सार्वजनिक गरिरहेका छन् । यता बैंकहरूले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै डिजिटल माध्यमबाट दक्षिणा दिँदा क्यासब्याकहरू पनि प्रदान गरिरहेका छन् ।
मोबाइल बैंकिङ्ग र वालेटबाटै दक्षिणा
बैंक तथा वित्तीय संस्था मात्रै नभई केन्द्रीय बैंकले समेत डिजिटल भुक्तानीमा जोड दिइरहेको समयमा मोबाइल बैंकिङ्ग तथा वालेटको माध्यमबाट डिजिटल दक्षिणा दिन बैंकरहरूले प्रोत्साहन गरिरहेका छन् । केही समय अघि लागेको डिजिटल भुक्तानीको अभिवृत्ति कर पनि खारेज भएका कारण सेवाग्राहीले डिजिटल भुक्तानी गर्नुपर्नेमा सरोकारवालले जोड दिएका छन् ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गबाट अर्को मोबाइल बैंकिङ्गमा कनेक्ट आइपीएसबाट कारोबार गर्दा ५ सय रुपयाँसम्म निशुल्क पठाउन सकिन्छ । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क तोकेको हुन्छ । यस्तै, ५ सयदेखि ५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५ हजारमाथिका हकमा ८ रुपैयाँ शुल्क लाग्ने छ ।
यस्तै, भुक्तानी सेवा प्रदायकले पनि दसैंको समयमा विभिन्न अफरहरू सार्वजनिक गर्ने गरेका हुन्छन् । कम्पनीहरूले सार्वजनिक गरेको अफर अन्र्तगत रहेर डिजिटल दक्षिणा दिँदा पैसा हराउने चोरिने पनि हुँदैन ।
यस्तो छ डिजिटल भुक्तानीको फाइदा
– डिजिटल कारोबारले विभिन्न किसिमका कारोबारलाई सहजता,
– भौतिक रूपमा बैंकसम्म जान नपर्ने भएकाले यात्रा र समयको बचत,
– डिजिटल कारोबारमा प्रायः कम शुल्क लाग्ने हुँदा पैसाको बचत,
– डिजिटल कारोबारमा सुरक्षा प्रविधिहरूका कारण कारोबार सुरक्षित,
– नगद बोक्दा हुने जोखिममा कमी,
– डिजिटल कारोबारको रेकर्ड स्वचालित रूपमा राख्ने हुँदा हिसाबमा पारदर्शिता,
– डिजिटल कारोबारले अन्तर्राष्ट्रिय बजारमा सजिलै कारेबार गर्न सकिने हुँदा अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग,
– ग्रामीण र दुर्गम क्षेत्रका मानिसहरूलाई वित्तीय सेवाहरूमा पहुँच विस्तार,
– इनोभेसनलाई प्रोत्साहन





About Us
प्रतिक्रिया