इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुने अन्तिम तयारी, आजै बैंकका सञ्चालकको बैठक बस्दै

इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुने अन्तिम तयारी, आजै बैंकका सञ्चालकको बैठक बस्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
मर्जर प्रक्रियाको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका सञ्चालकहरू आज दिउँसो बैठकमा सामेल भएर यसको छिनोफानो लगाउँदै छन् । 

‘आज साँझ दुवै बैंकका सञ्चालकहरू यसमा छलफल गर्दै हुनुहुन्छ,’ नेपाल इन्भेष्टमेन्ट बैंक स्रोतले भने, ‘कुरा मिल्यो भने आजै साँझ सम्झौता हुने सम्भावना छ ।’

हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको छ । 

इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ । त्यसपछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलो हुनेछ । यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ। यद्यपि स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स रिपोर्ट) ले गर्नेछ ।

मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब रूपैयाँ पुग्नेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । त्यस्तै इन्भेष्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड र मेगा बैंकले २ अर्ब नाफा कमाएको थियो ।

इन्भेष्टमेन्ट बैंकमा ज्योति पाण्डे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेकी छन् ।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ६६ रूपैयाँमा कारोबार भइरहेको छ । इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ ।

त्यस्तै मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय २४ रूपैयाँ छ । मेगाको खराब कर्जा अनुपात ०.७२ प्रतिशत छ ।

गत वर्षदेखि मर्जरमा जाने तयारी गरिरहेको इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको प्रक्रिया अन्तिम समयमा तोडिएको थियो । इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जर तोडिएपछि राष्ट्र बैंकको कारवाहीमा परेको छ। बैंकले अन्य कुनै सँस्थालाई गाभेपछि मात्रै बैंक केन्द्रीय बैंकको कारवाहीबाट मुक्त हुने छ । 

यसले गर्दा इन्भेष्टमेन्ट बैंकले मर्जरको लागि धेरै वटा बैंकहरुसँग छलफल गर्दै आएको थियो । त्यसपछि नेपाल इन्भेष्टमेन्टले मेगा बैंकसँग मर्जर प्रक्रियामा अगाडी बढेको हो ।