सेयर लगानीकर्ता आन्दोलनमा उत्रिए,धितोपत्र बोर्ड घेराउ गर्दै प्रदर्शन 

सेयर लगानीकर्ता आन्दोलनमा उत्रिए,धितोपत्र बोर्ड घेराउ गर्दै प्रदर्शन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पुँजीबजार सुधारलगायतका विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालय घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन्। 

बिहान ११ बजे भेला भएका सयौँ लगानीकर्ताहरुले सेबोनको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।  गत शनिबार सेयर लगानीकर्ताहरुको भेलाले पुँजीबजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रमहरु घोषणा गरेको थियो। सोही पूर्वनिर्धारित कार्यक्रमअनुसार आज सेबोनमा प्रदर्शन गर्न लगानीकर्ताहरु पुगेका हुन्। 

सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु  नहुँदा पूँजी बजारमा गम्भीर संकट आएको ठहर गर्दै १९ बुँदे मागसहित कोइरालाले असार १ गतेदेखि आफू आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन्। सोही अनसनलाई सहयोग पुग्ने उद्देश्यले लगानीकर्ताहरुले आजबाट शान्तिपूर्ण आन्दोलन तथा प्रदर्शन सुरु गरेका हुन्। 

शनिबारको भेलाले पुँजीबजार सुधार र विस्तारका लागि दवाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो।   घोषित आन्दोलनका कार्यक्रमअनुसार लगानीकर्ताले आज (जेठ २३ गते) सेबोनमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते  प्रधानमन्त्रीलाई भेट्ने,  २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म  कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पुँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्नेछन्। 

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ,  नानीबाबु खरेल, पूरुषोत्तम  कँडेल, एलपी साह, सञ्जय थापा, देवबहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल,  राजु ओझा,  माधवप्रसाद गौतम, सुन्दर  श्रेष्ठ,  पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, सुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ती सदस्य छन्। 

भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिँदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलनसमेत शनिवार नै गरिसकेको छ ।