काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका संस्थापक शिवकुमार विश्वकर्मासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र संस्थाको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवामा कार्यरत ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले २०८३ मंसिर २ गते नेपाल–भारत सीमा क्षेत्र, सुनसरीबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको धरानमा मुख्य कार्यालय रहेको उक्त सहकारीले नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न समयमा बचतकर्ताहरूको रकम अपचलन तथा ठगी गरेको आरोप छ।
उक्त प्रकरणमा १७ हजार १० जना पीडित रहेको र शंकर थापासहित ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरुमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया