ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन भरतपुरमा बन्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरेका थिए । 

बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए । देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ । 

तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ । दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।