बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट

बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले  आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो ।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर जेठ ११ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरेको हो । आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट पछि अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत शेयर विक्री गर्नेछ ।

कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।