बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम रुप दिनेछ ।
यस अघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया