बैंकिङ्ग समाचार, काठमाडौं ।
खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ । यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलो पटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल १ सय बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
त्यति मात्र नभएर, एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ । यी सेवाहरू मार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन् ।
आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ ।
साथै, एनसीसी बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलो पटक लिङ्क गर्न रिफर गर्ने जो कोहीले पनि बैंक रेफरलमा रु.५० प्राप्त गर्न योग्य हुनेछन् । बैंक लिङ्क सेवाले प्रयोगकर्ताहरूलाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाहरू जस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ ।
यी सेवाका साथै अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, “खल्ती र एनसीसी बैंकका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभान्वित हुनेमा हामी विश्वस्त छौं । एकपछि अर्को गर्दै, हामी प्रत्येक बैंक–सम्बद्ध प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराएर डिजिटल भुक्तानीलाई सरल र सहज बनाउने लक्ष्य राख्नेछौं ।” नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेडसँगै २० वटा भन्दा बढी बैंकलाई खल्तीसँग जोड्न सकिनेछ ।
प्रतिक्रिया