शतप्रतिशत बिक्री भएको सेञ्चुरी बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने

शतप्रतिशत बिक्री भएको सेञ्चुरी बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र शतप्रतिशत नै बिक्री भएको ऋणपत्रको अन्तिम बाँडफाँड (अलोटमेन्ट) सोमबार जेठ ९ गते हुने बिक्री प्रबन्धक तथा बैंक श्रोतले बताएको छ ।  ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको छ ।

क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रि-अलोटमेन्ट भने जेठ ६ गते नै भएको छ ।

बजारमा उच्त तरलता अभावका बावजुद पनि बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । जसमध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड रुपैयाँ सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँ (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको थियो ।

जसमा सर्वसाधारणबाट २ हजार २६२ वटा आवेदन र कम्पनीहरुबाट ३३ वटा आवेदन परेको थियो । यससँगै, १० वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउने छन् ।

बैंकले गत बैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म सेञ्चुरी डिबेन्चर बिक्री खुला गरेको थियो ।