बैंकिङ्ग समाचार, काठमाडौं ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
यस अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ ।
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । 'एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी' भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले 'रक्त्तदान नै जिवनदान' भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भएपनि पूरा होस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।
ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया