बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो ।
कम्पनीको संस्थापक तर्फको शेयरको कटअफ मूल्य रू.१५१ र सर्वसाधारण तर्फको कटअफ मूल्य रू.४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।
प्रतिक्रिया