विकास बैंकहरुले बढाए ब्याजदर, मुद्दतीमा साढे १२ प्रतिशतसम्म ब्याज पाइने

विकास बैंकहरुले बढाए ब्याजदर, मुद्दतीमा साढे १२ प्रतिशतसम्म ब्याज पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
विकास बैंकहरुले जेठदेखि निक्षेपमा ब्याजदर बढाएका छन् । विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन् ।

विकास बैंक एशोसियसनले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको थियो । सोहि अनुसार केहि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका छन् । तर ८ विकास बैंकले भने ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याएका छन् । यस्तै एक बैंकले भने १२ प्रतिशतभन्दा कम कायम गरेको छ ।

विकास बैंकहरुमध्ये लुम्बीनी विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएका छन् । उनीहरुले रेमिट्यान्स खातामा भने साढे १३ प्रतिशत ब्याज दिने छन् ।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १२.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले भने विकास बैंकहरुमा सबैभन्दा कम ११.८ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

जेठमा वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत राखेका छन् । उनीहरुले गत ३ महिनादेखि ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर थप नबढाउने निर्णयमा पुगेका हुन ।

तर विकास बैंकहरुले भने जेठमा मुद्दती निक्षेप र साधारण बचत दुबैको ब्याजदर बढाएका छन्। यसले गर्दा उनीहरुको लागत बढ्ने छ भने यसले कर्जाको ब्याजदर भने झनै बढ्ने देखिन्छ ।

\"\"