आज शेयर बजार नखुल्ने, अब सोमवारदेखि शुक्रवारसम्म कारोबार सञ्चालन

आज शेयर बजार नखुल्ने, अब सोमवारदेखि शुक्रवारसम्म कारोबार सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आजदेखि आइतवार सार्वजनिक विदा दिने निर्णय लागू गरेसँगै शेयर बजार पनि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुने भएको छ । पाँच कारोबार दिन सञ्चालन हुँदै आएको शेयर बजार आइतवार सार्वजनिक विदा भएसँगै शुक्रवार पनि सञ्चालन हुने भएको हो । 

स्थानीय चुनावी माहोलका विच गत साता शेयर बजार सकारात्मक बनेको छ । साथै जेठमा बैंकहरुले व्याजदर नबढाउँने भएसँगै लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ । लामो समयदेखि घट्दै आएको बजार अव भने केहि माथी जाने विश्वास लगानीकर्ताहरुले गरेका छन् । गत सात अघिल्लो साताको तुलनामा १११ दशमलव ८० अंकले बढेर नेप्से परिसूचक २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । गत साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् ।

गत साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीद विक्री भएको छ । अघिल्लो साता तीन दिन मात्र खुलेको बजारमा  रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद विक्री भएको थियो ।