बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २२ करोड ८६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १७ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ११ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रकम रहेको छ । जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा छ भने प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा छ ।
प्रतिक्रिया