मूल्यबृद्धि राष्ट्र बैंकको लक्ष्यभन्दा माथि पुग्यो, नौ महिनामा मूल्यबृद्धि ७.२८ प्रतिशत

मूल्यबृद्धि राष्ट्र बैंकको लक्ष्यभन्दा माथि पुग्यो, नौ महिनामा मूल्यबृद्धि ७.२८ प्रतिशत


बैंकिङ्ग समाचार, काठमाडौं ।
मूल्यबृद्धि नेपाल राष्ट्र बैंकको लक्ष्यभन्दा माथि जान थालेको छ । केन्द्रीय बैंकले साढे ६ प्रतिशतको मूल्यबृद्धिको लक्ष्य राखे पनि अहिले मूल्य बृद्धि ७ प्रतिशतभन्दा माथि पुगेको छ ।

आर्थिक वर्षको नौ महिनामा मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।