नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआइ)को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ ।

युपिआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो ।

यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुवै देशका पसल र व्यापारी पसलहरूमा युपिआइ आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्वाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानीहरु गर्न सक्नेछन् ।

त्यसैगरी, नबिल युपिआई क्युआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत युपिआइ आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।