बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारी कर्मचारीहरुको तलब दुई हजार रुपैयाँले बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीहरुको तलब बढाउने तयारी गरेको हो ।
चालु वर्ष २०७८/७९ का लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो दुई हजारले बढाएका थिए । यसपालि भने तलब नै दुई हजार रुपैयाँले बढ्ने भएको हो
।
भत्ताको भार सरकारलाई तत्कालका लागि मात्रै परे पनि तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्नेछ । बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृत्तिभरण) व्यवस्थापनमा पनि चाप पर्नेछ । दुई वर्षअघि २०७६/७७ मा डा. युवराज खतिवडाको दोस्रो बजेटबाट सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथिको पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो ।
बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुनेछ ।
कर्मचारीहरुको सेवा सुविधा प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने परिपाटी रहे पनि कोभिड असरले गर्दा चालु वर्षमा दुई हजार भत्ता मात्रै वृद्धि गरिएको थियो । योपटक दुई हजार भत्तालाई निरन्तरता दिँदै तलब दुई हजार रुपैयाँसम्म बढाउने तयारी गरिएको हो । बढ्दो महँगीलाई मध्यनजर गर्दै सरकारले तलब वृद्धि गर्न लागेको स्रोतले बताएको छ ।
कुन पदमा कति बढ्छ तलब
यदि सरकारले सोलोडोलो दुई हजार रुपैयाँका दरले तलब वृद्धि गरे प्रथम तहका कर्मचारीको तलब बढेर २५ हजार ४ सय ७० रुपैयाँ पुग्नेछ । यस्तै द्वितीय तहको २६ हजार ६ सय ५७ र तृतीय तहको २७ हजार ९ सय ८० रुपैयाँ पुग्नेछ ।
यसैगरी, चौथो तहको २९ हजार ९ सय ८७ रुपैयाँ पुग्दा पाँचौ तहको ३२ हजार ५ सय ५६ रुपैयाँ पुग्नेछ । राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारीको तलब ३२ हजार ४ सय रुपैयाँ पुग्नेछ । यस्तै, राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले ३४ हजथार १ सय ९३ तलब प्राप्त गर्नेछन् ।
रापत्रांकित तृतीय श्रेणीको ४१ हजार ९ सय ७५ रुपैयाँ पुग्नेछ । यस्तै, द्वितीय श्रेणीको ४६ हजार ३ सय ५७ रुपैयाँ पुग्दा प्रथम श्रेणीका कर्मचारीको ५३ हजार ३ सय ६५ रुपैयाँ पुग्नेछ । सचिवको मासिक तलब ५६ हजार ५ सय ८२ रुपैयाँ पुग्नेछ भने विशिष्ट सचिवको ६६ हजार ६ सय ५२ रुपैयाँ पुग्नेछ । यस्तै, मुख्य सचिवको ७० हजार ४ सय ६ रुपैयाँ पुग्नेछ ।
आयकरको सीमा पनि बढ्ने
सरकारले कर्मचारीको तलबसँगै आयकरको सीमामा पनि परिमार्जन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा पूर्वअर्थमन्त्री युवराज खतिवडाले आयकरको सीमा बढाएका थिए । जसमा व्यक्तिको हकमा ४ लाख र दम्पत्तिको हकमा ४ लाख ५० हजारसम्मको वार्षिक आयमा आयकर छुट हुँदै आएको छ ।
अहिले व्यक्तिको हकमा ४ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्दै आएको छ । यस्तै, दम्पतिको हकमा ४ लाख ५० हजारसम्ममा १ प्रतिशत कर लाग्दै आएको छ । सो पछिको एक लाखमा १० प्रतिशत, सो पछिको ३ लाखसम्ममा २० प्रतिशत, सो पछिको १६ लाखसम्ममा ३० प्रतिशत र २० लाखभन्दा बढीको आयमा ३६ प्रतिशत कर लाग्दै आएको छ।
यो सीमा पुनरावलोकन नभएको ३ वर्ष पुगेको छ । आयकरको छुटको सीमा वर्तमानको मूल्यवृद्धि समेतलाई आत्मसात गरी समयसापेक्ष वृद्धि गर्नुपर्ने विभिन्न पक्षले सुझाव समेत दिएका छन् । त्यसमा सकारात्मक रहेको अर्थमन्त्रालय स्रोतले बताएको छ।
प्रतिक्रिया